काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा सामाजिक सञ्जालको अनुगमन नेपाली सेनाको सहयोगमा गर्ने जानकारी दिएको छ।
आयोगका आयुक्त सगुन शमशेर जबराले राजनीतिक दलहरूसँग निर्वाचन आचारसंहितासम्बन्धी छलफलका क्रममा सामाजिक सञ्जाल अनुगमनबारे जानकारी गराएका हुन्। उनका अनुसार सामाजिक सञ्जाल अनुगमनका लागि आवश्यक उपकरण तथा प्रविधि वैदेशिक सहयोगमार्फत प्राप्त भएको छ।
‘चुनावका बेला सोसल मिडिया मनिटरिङका लागि आवश्यक सामान हामीलाई विदेशबाट सहयोग प्राप्त भएको छ,’ आयुक्त जबराले भने, ‘त्यससँगै नेपाली सेनाका टुल्समार्फत पनि अनुगमन गरिनेछ। नेपालमा सबैभन्दा बलिया (स्ट्रोङ) टुल्स नेपाली सेनाकै छन्।’
उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई पहिलो चरणमा स्पष्टीकरणको मौका दिइने र स्पष्टीकरण चित्तबुझ्दो नभए कारबाही प्रक्रिया अघि बढाइने जानकारी पनि दिए।
त्यसैगरी, निर्वाचन आचारसंहिता उल्लंघन हुने सामग्री सामाजिक सञ्जालमा पोस्ट हुन नदिन निर्वाचन आयोगले फेसबुक (मेटा) र टिकटकसँग सम्झौता गर्न लागेको पनि आयुक्त जबराले बताए।
आयोगका अनुसार सामाजिक सञ्जालमार्फत हुने गलत सूचना, भ्रामक प्रचार तथा आचारसंहिता विपरीतका गतिविधि नियन्त्रण गर्न अनुगमन प्रणालीलाई थप सुदृढ बनाइनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया