नेपाल मेडिकल काउन्सिलद्वारा निर्वाचन, परीक्षा र अनुशासन व्यवस्थापनमा महत्वपूर्ण निर्णय

168 Shares

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आगामी निर्वाचन, परीक्षा सञ्चालन तथा अनुशासनसम्बन्धी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ।

काउन्सिलले आगामी नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा मतदाता सहभागिता सहज, पारदर्शी र प्रभावकारी बनाउन अनलाइन प्रणाली अवलम्बन गर्ने निर्णय गरेको हो। यस निर्णयले देशभरका चिकित्सकहरूको सहभागिता बढाउने र निर्वाचन प्रक्रियामा प्रविधिको अधिकतम प्रयोग हुने काउन्सिलका रजिष्ट्रार डा. सतिस देवले जानकारी दिए।

गत पुसको दोस्रो साता सम्पन्न काउन्सिल निर्वाचनमा विजयी भएका अधिकांश उम्मेदवारले आफ्नो घोषणापत्रमा निर्वाचन प्रणाली डिजिटलाइज गर्ने र अनलाइन भोटिङको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए। नव–निर्वाचित उपाध्यक्ष डा. कुञ्जाङ शेर्पासहित अन्य आठ सदस्यको सहभागितामा बसेको पहिलो बैठकले उक्त निर्णयलाई औपचारिक रूप दिएको हो।

त्यसैगरी, काउन्सिलले परीक्षा प्रणालीलाई एकरूप, निष्पक्ष र समयमै सञ्चालन गर्न सबै प्रदेशमा एकै समयमा लाइसेन्स परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। यसका लागि प्रश्नपत्र एकरूप बनाइनेछ।

काउन्सिलअन्तर्गत सञ्चालन हुने लाइसेन्स परीक्षा तथा स्नातकोत्तर (पोस्टग्राजुएट) चिकित्सकहरूको परीक्षाका लागि कम्प्युटर बेस्ड एक्जामिनेसन (CBE) प्रणाली अन्तर्गत प्रश्नपत्रका सेट विकास गरिने निर्णय पनि गरिएको छ। यस प्रणालीमार्फत नेपालका सातै प्रदेशमा एकै समयमा परीक्षा सञ्चालन गरिने व्यवस्था मिलाइनेछ।

यसअघि परीक्षा दिन काठमाडौं नै आउनुपर्ने बाध्यता रहेकोमा अब प्रदेशमै परीक्षा दिन सकिने भएपछि परीक्षार्थीलाई सहज पहुँच, यात्रा तथा समयको बचत हुने र परीक्षा प्रक्रियाको पारदर्शिता तथा गुणस्तरमा वृद्धि हुने काउन्सिलले जनाएको छ।

यस्तै, काउन्सिलमा बढ्दो संख्यामा दर्ता हुँदै आएका अनुशासनसम्बन्धी मुद्दाहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न मेडिको लिगल विभाग गठन गर्ने निर्णय गरिएको छ। रजिष्ट्रार डा. देवका अनुसार उक्त विभागमा आवश्यक कानुनी, प्रशासनिक तथा प्राविधिक जनशक्तिको व्यवस्था गरिनेछ भने आवश्यक लजिस्टिक तथा संरचनागत पूर्वाधार पनि सुनिश्चित गरिनेछ।

काउन्सिलका अनुसार यी निर्णयहरूले अनुशासनसम्बन्धी मुद्दाहरूको अनुसन्धान, निष्पक्ष मूल्यांकन र व्यवस्थापन प्रक्रियालाई अझ सुदृढ, व्यवस्थित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।