भरतपुर महानगरको नयाँ प्रमुख प्रशासकीय भवन उद्घाटन

160 Shares

चितवन । भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवन आज उद्घाटन गरिएको छ। ६ तले आकर्षक भवनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन्।

महानगर प्रमुख रेणु दाहालका अनुसार भवनको भुइँतलामा इन्टेरियरका सम्पूर्ण काम सम्पन्न भइसकेपछि औपचारिक रूपमा उद्घाटन गरिएको हो। माथिल्ला तलाहरूमा भने केही इन्टेरियरका काम बाँकी रहेका छन्।

५३ करोड ३२ लाख ६४ हजार रुपैयाँको लागतमा निर्माण गरिएको यस भवनमा संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानी रहेको छ। संघीय सरकारबाट २१ करोड ५८ लाख १४ हजार, बागमती प्रदेश सरकारबाट १९ करोड ८९ लाख ३६ हजार र भरतपुर महानगरपालिकाबाट ४ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ।

महानगरपालिकाको शहरी पूर्वाधार विकास महाशाखाका प्रमुख तथा वरिष्ठ डिभिजनल इन्जिनियर सन्तोष आचार्यले करिब दुई वर्षमा भवन निर्माण सम्पन्न गरिएको जानकारी दिए। पर्याप्त जग्गाको अभाव भएपछि नेपाल नेत्र ज्योति संघले भोगचलन गर्दै आएको १ बिघा १५ धुर जग्गा सम्झौतामार्फत थप गरिएको थियो।

महानगर प्रमुख दाहालले संघसँग जग्गा प्राप्त गर्ने प्रक्रिया निकै मेहनत र दुःखका साथ सम्पन्न गरिएको बताइन्। यस भवनको २०७८ चैत ११ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका थिए।

यसअघि २०४३ सालमा बनेको पुरानो र जीर्ण भवन मर्मत गर्दै महानगर सञ्चालन हुँदै आएको थियो। तर गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का नाममा भएको तोडफोड र आगजनीपछि उक्त भवन पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो।

नयाँ प्रमुख प्रशासकीय भवन ७ कठ्ठा जमिनमा निर्माण गरिएको हो। भवनमा जम्मा २२१ कोठा छन्। भूमिगत पार्किङमा ५० कार र १५० मोटरसाइकल अट्ने व्यवस्था गरिएको छ। भुइँतलामा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतका कार्यकक्ष रहेका छन् भने दोस्रो तलामा नगर उपप्रमुखको कार्यकक्ष छ।

भवनमा दुईवटा लिफ्ट, तीनवटा भित्री र दुईवटा बाहिरी सिँढी छन्। २५० र ३५० जना अट्ने दुई ठूला हलसहित विभिन्न महाशाखा तथा शाखाका लागि साना–ठूला गरी १५८ कोठा निर्माण गरिएको छ। बैठक कक्ष मात्रै आठवटा छन्, हरेक तलामा दुई–दुईवटा बैठक कक्ष रहेका छन्।

यसका साथै ज्येष्ठ नागरिक प्रतिक्षा कक्ष, पुस्तकालय, सांस्कृतिक प्रदर्शनी कक्ष, सभाहलसमेतको व्यवस्था गरिएको छ। सबैभन्दा माथिल्लो तलामा अडिटोरियम हल र अर्को साइडमा सांस्कृतिक संग्रहालय (कल्चरल म्युजियम) रहनेछ।

भवनका हरेक तलामा अपाङ्गमैत्री शौचालयसहित पुरुष र महिलाका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ। पूर्ण अपाङ्गमैत्री यस भवनले आगामी करिब एक सय वर्षसम्म भरतपुरवासीलाई सेवा प्रदान गर्ने विश्वास महानगर प्रमुख दाहालले व्यक्त गरिन्।

“महानगरको व्यवस्थित भवन नहुँदा सेवाहरू विभिन्न स्थानबाट दिनुपरेको थियो। अब सबै सेवा एकै ठाउँबाट प्रवाह गर्न सकिन्छ,” उनले भनिन्, “यो भवन भरतपुर महानगरको गौरवको प्रतीक बन्नेछ।”

भवन शर्मा–सगरमाथा–सगुन जेभीले निर्माण गरेको हो। निर्माण कम्पनीका प्रमुख सहदेव खड्काले यो भवन नेपाली मौलिकता झल्किने शैलीमा निर्माण गरिएको बताए।