एमालेको आशंका : आगामी निर्वाचन अझै भयरहित वातावरणमा सुनिश्चित भइसकेको छैन

158 Shares

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न हुने विषयमा अझै आशंका रहेको जनाएको छ।

शुक्रबार निर्वाचन आयोगद्वारा आयोजित निर्वाचन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा. राजन भट्टराईले निर्वाचनलाई निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले कस्तो तयारी गरिरहेको छ भन्ने प्रश्न उठाएका हुन्।

सचिव भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि अनुगमन प्रणाली (मोनिटरिङ सिस्टम) प्रभावकारी हुन नसकेको भन्दै त्यसतर्फ आयोगको ध्यानाकर्षण गराए। विगतका निर्वाचनहरूमा पनि आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयनमा नजाँदा निर्वाचन सहज हुन नसकेको उनले स्मरण गराए।

“निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको मोनिटरिङ सिस्टम के हो ? आचारसंहितालाई प्रभावकारी रूपमा लागू गर्न प्रणाली कमजोर हुँदा निर्वाचन सहज बन्न सकेको छैन,” भट्टराईले भने, “विशेष गरी पैसाको चलखेल र ‘मनी मसल’को प्रयोग नियन्त्रण गर्न निर्वाचन आयोग कति तयार छ ?”

उनले उम्मेदवारहरूले ढुक्कका साथ जनतामाझ जान पाउने वातावरण, कुनै प्रलोभन वा दबाबबिना निष्पक्ष प्रतिस्पर्धा हुने अवस्था अझै सुनिश्चित भइनसकेको एमालेको धारणा रहेको बताए।

“भयरहित वातावरणमा निर्वाचन हुने विश्वास दिलाउने विषयमा निर्वाचन आयोगको भूमिका के कस्तो छ ? भन्ने प्रश्न अझै कायम छ,” उनले थपे।

सचिव भट्टराईले निर्वाचन प्रचार–प्रसारसम्बन्धी आचारसंहितामा उल्लेख गरिएका केही व्यवस्था व्यावहारिक नभएको भन्दै त्यसबारे पुनर्विचार गर्न पनि निर्वाचन आयोगलाई सचेत गराएका छन्।