काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ता (जेन–जी) लाई निर्वाचनमा जिताउनुपर्ने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
प्रधानमन्त्री तथा विभिन्न मन्त्रीहरूले सार्वजनिक कार्यक्रम र भाषणमा यस्ता प्रकारका अभिव्यक्ति दिनु निर्वाचन आचारसंहिताको मर्मविपरीत हुने नेता पुनको भनाइ छ। उनले निर्वाचनमा राज्यको शक्ति र स्रोत–साधनको दुरुपयोग हुन नदिन निर्वाचन आयोगले गम्भीर ध्यान दिनुपर्ने बताए।
शुक्रबार निर्वाचन आयोगद्वारा आयोजित निर्वाचन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेता पुनले आचारसंहिता कार्यान्वयनका लागि भरपर्दो अनुगमन संयन्त्र (मेकानिजम) निर्माण गर्न आयोगलाई सुझाव दिए।
“राज्य शक्ति, राज्यका स्रोत र साधनको दुरुपयोग नहोस् भन्ने विषयमा निर्वाचन आयोगको विशेष ध्यान जानुपर्छ,” पुनले भने, “हामी बाहिरबाट प्रधानमन्त्री र मन्त्रीहरूले ‘यसलाई जिताउनुपर्छ’ वा ‘यसलाई हराउनुपर्छ’ भन्ने खालका भाषण सुनिरहेका छौँ। अहिले गैरदलीय सरकारको अवस्था छ, संघ, प्रदेश र स्थानीय तहका सरकार छन्। आचारसंहितामा व्यवस्था छ, तर त्यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने प्रश्न छ।”
उनले सूचना प्रविधिको प्रयोगमार्फत निर्वाचनमा प्रभाव पार्ने प्रयास हुन सक्ने भन्दै सूचना प्रविधि क्षेत्रको प्रभावकारी अनुगमन गर्न पनि निर्वाचन आयोगलाई आग्रह गरे।
नेता पुनले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचनका लागि प्रविधिको दुरुपयोग रोक्न आयोगले विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया