दोलखाको खरिढुङ्गामा ईभी भ्यान दुर्घटना, तीन जना घाइते

177 Shares

दोलखा । दोलखाको खरिढुङ्गा क्षेत्रमा ईभी भ्यान दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत भिमेश्वर नगरपालिका–९ आहालडाँडामा बागमती प्रदेश ०६–००१ ज ०२८८ नम्बरको ईभी भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंबाट चरिकोटतर्फ जाँदै गरेको भ्यान तुसारोका कारण सडक चिप्लिएर दुर्घटना भएको हो। दुर्घटनामा ६२ वर्षीय हरीबहादुर ठकुरी, उनकी ६१ वर्षीया श्रीमती निर्मला ठकुरी (भिमेश्वर–६) तथा रामेछाप गोकुलगंगा गाउँपालिका–२ की ४५ वर्षीया रेखा नेपाली घाइते भएका छन्।

घाइते तीनै जनाको चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भ्यान चालक रामेछाप मन्थली नगरपालिका–१२ गेलु निवासी २७ वर्षीय रविन्द्र बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए।

दुर्घटनाका बेला भ्यानमा चालकसहित छ जना सवार थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।