गगन थापा समूहको आयोग पुगाइ लोकतन्त्रमाथिको षड्यन्त्रको संकेत : कार्यवाहक सभापति खड्का

163 Shares

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको समूह निर्वाचन आयोग पुगेको घटनालाई लोकतन्त्रमाथिको षड्यन्त्रको संकेतका रूपमा अर्थ्याएका छन्।

शुक्रबार पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहित दलबलका साथ निर्वाचन आयोग पुगेका कार्यवाहक सभापति खड्काले आयोगका पदाधिकारीसमक्ष गगन थापा नेतृत्वको समूहले नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै आयोग पुगेको विषय गम्भीर रहेको बताए।

“नेपालको संविधानमाथि, नेपालको लोकतन्त्रमाथि र हामीले प्राप्त गरेको परिवर्तनमाथि गम्भीर षड्यन्त्रका संकेत देखिन थालेका छन्,” खड्काले भने, “त्यही षड्यन्त्रको एउटा ठूलो संकेतका रूपमा केही व्यक्तिहरूले निर्वाचन आयोगमा आएर कांग्रेसको दाबी गरेका छन् भन्ने कुरा सञ्चार माध्यमबाट जानकारी पायौँ।”

कार्यवाहक सभापति खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति नै नेपाली कांग्रेसको आधिकारिक नेतृत्व भएको जिकिर गर्दै सोही अनुसारका कागजातहरू कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएको जानकारी दिए।

उनले पार्टीको वैधानिकता संविधान, विधान र निर्वाचन आयोगको अभिलेखअनुसार स्पष्ट रहेको दाबीसमेत गरेका छन्।