कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगको अध्ययन सुरु

171 Shares

काठमाडौं । १४ औँ महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएको दाबी गरेका गगन थापा पक्षबीच उत्पन्न आधिकारिकता विवादबारे निर्वाचन आयोगले अध्ययन सुरु गरेको छ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा ले यस विषयमा अध्ययन थालेको हो।

“शाखाले अध्ययन गरेर आयोगमा पेस गर्नेछ । त्यसपछि आयोगको नियमित बैठकमा छलफल हुनेछ,” घिमिरेले बताए।

पुस २७ देखि माघ १ गतेसम्म चलेको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्व समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ। निवेदनमा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति अनुसार पार्टीको अभिलेख अद्यावधिक गर्न र आगामी निर्वाचनमा उम्मेदवारको मनोनयनपत्रमा गगन थापाको हस्ताक्षर रहने व्यवस्था गर्न माग गरिएको छ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मनोनयन दर्ता माघ ६ गते तोकिएको छ। हालसम्म निर्वाचन आयोगको अभिलेखमा कांग्रेसको तर्फबाट मनोनयनपत्रमा हस्ताक्षर गर्ने अधिकार शेरबहादुर देउवाको नाममा रहेको छ। उक्त व्यवस्था परिवर्तन गरी गगन थापाको हस्ताक्षर मान्य गर्न माग गरिएको हो।

यता, शेरबहादुर देउवा पक्षले भने विशेष महाधिवेशन नै आयोजना नभएको दाबी गर्दै आयोगमा निवेदन दिएको छ। ‘जानकारी सम्बन्धमा’ शीर्षकमा बुझाइएको निवेदनमा भनिएको छ,

“नेपाली कांग्रेसको नाममा काठमाडौंमा विशेष महाधिवेशन भएको भनी विभिन्न सञ्चार माध्यममा आएको खबर सत्य नभएको र त्यस्तो कार्यक्रम पार्टी केन्द्रीय कार्यसमितिको औपचारिक कार्यक्रम नभएको व्यहोरा अवगत गराइन्छ।”

गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस २६ देखि माघ १ गतेसम्म विशेष महाधिवेशन सञ्चालन भई थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको दाबी गरिएको छ। तर देउवा पक्षले उक्त महाधिवेशनलाई अवैधानिक भन्दै मान्यता नदिन आयोगमा पत्र बुझाएको हो।

आधिकारिकता विवादमाथि आयोगमा अध्ययन जारी रहेका बेला आज देउवा पक्षका नेता–कार्यकर्ताहरू निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका छन्।