२६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप माघ २२ देखि धरानमा

210 Shares

काठमाडौं । सुनसरीको धरानमा प्रत्येक वर्ष आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ २२ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुने भएको छ।

धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्ष धरान रङ्गशालामा हुनेछ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिँदै गत वर्ष ८ टोली सहभागी रहेको प्रतियोगितामा यस वर्ष १० टोलीको सहभागिता रहने बताए।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई एक थान होण्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ का दरले पुरस्कार प्रदान गरिने क्लबका महासचिव नवीन राईले जानकारी दिए। प्रतियोगितामा सर्वाधिक गोलकर्ता ले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछ।

यस वर्षको प्रतियोगितामा नेपाल र विदेशी गरी १० टोली सहभागी हुनेछन्। सहभागी टोलीहरूमा एनआरटी क्लब काठमाडौं, चर्च ब्वाइज युनाइटेड काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं, एलए क्लब पोखरा, झापा–११ झापा, धरान फुटबल क्लब तथा विदेशी टोलीतर्फ रोयल थिम्फु क्लब (भुटान) र जर्जियन क्लब लेम्पुङ (भारत) रहेका छन्।

बुढासुब्बा गोल्डकपलाई पूर्वी नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा लिइन्छ।