काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समयअघि पार्टी ‘दुर्घटना’मा परेको भए पनि अहिले त्यसबाट सफा र चोखिएर बाहिर आएको बताएका छन् ।
बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाइटेड जेन–जी) सँग एकता घोषणा गर्दै अध्यक्ष घिसिङले करिब १२ दिन पार्टी गम्भीर कठिन परिस्थितिमा परेको उल्लेख गरे । उनले अँध्यारो अवस्थाबाट बाहिर निस्कन १२ दिन लागेको र त्यो समय अत्यन्तै चुनौतीपूर्ण रहेको बताए ।
‘केही समयका लागि हामी दुर्घटनामा पर्यौं, तर त्यो दुर्घटनाबाट अब बाहिर आएका छौं,’ घिसिङले भने, ‘पार्टी सफा भएको छ, अब देशलाई पनि सफा र उज्यालो बनाउने अभियानमा गम्भीर रूपमा लाग्नेछौं ।’
अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीले नयाँ शक्तिको प्रतिनिधित्व गर्ने दाबी गर्दै अरू राजनीतिक दलहरू पुरानो भइसकेको टिप्पणी गरे । जेन–जी आन्दोलनको म्यान्डेटलाई सम्बोधन गर्नकै लागि उज्यालो नेपाल पार्टी स्थापना गरिएको उनको भनाइ छ ।
‘हामी नै नेपालको नयाँ शक्तिको प्रतिनिधित्व गर्छौं भन्ने हाम्रो दाबी हो,’ उनले भने, ‘अरू सबै पार्टी पुरानो भइसकेका छन्, हामी नयाँ स्पिरिटका साथ अघि बढेका छौं । यही पार्टीले जनताका माग सम्बोधन गर्नेछ ।’
कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टी (युनाइटेड जेन–जी) का अध्यक्ष राजेश पोर्तेलबीच सहमतिपत्र आदान–प्रदान गरिएको थियो । सो एकताले जेन–जी आन्दोलनको राजनीतिक प्रतिनिधित्वलाई थप बल पुग्ने दाबी नेताहरूले गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया