दल बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : एमाले महासचिव पोखरेल

201 Shares

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताएका छन् ।

दाङ प्रेस चौतारीले घोराहीमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले लोकतान्त्रिक पद्धतिलाई मजबुत बनाउन आवधिक निर्वाचन अपरिहार्य रहेको उल्लेख गरे ।

गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भन्दै उनले प्रहरी र अदालतमा भएको आक्रमण सामान्य विषय नभएको बताए । ‘विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताबाटै समृद्धितर्फ अघि बढ्न सकिन्छ,’ उनले भने ।

महासचिव पोखरेलले लोकतन्त्र, शान्ति–सुरक्षा र कानुनी राज्यको रक्षाका लागि नेकपा एमाले गम्भीर रहेको उल्लेख गरे । जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबारे छानबिन गर्नुपर्ने, साथै राजनीतिक दलहरू जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

उनले आगामी निर्वाचनमा नेकपा एमालेले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पनि स्पष्ट पारे । रासस