काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान विशिष्ट परिस्थितिमा संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी छन् ।
माघी पर्वका अवसरमा थारु कल्याणकारिणी सभाले बिहीबार काठमाडौंको टुँडीखेलमा आयोजना गरेको माघी महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मौलिक चाडपर्वहरूले आपसी सम्मान, एकता, सद्भाव र सहअस्तित्व प्रवर्द्धन गर्ने उल्लेख गरिन् । अहिलेको परिस्थितिमा सांस्कृतिक पर्वको मर्म आत्मसात् गर्दै अझै संयमित र एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।
उनले थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सरकार सदैव प्रतिबद्ध रहेको स्पष्ट पारिन् । अरू समुदायले पाएको सुविधा जस्तै थारु समुदायले पनि समान सुविधा पाउनुपर्ने विषयमा सरकार सजग रहेको उनको भनाइ छ ।
‘थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नारासहित आयोजित महोत्सवमा थारु खानाका परिकार, प्रदर्शनी तथा बिक्री, थारु सीप र हस्तकलाका सामग्री, पुस्तक प्रदर्शनी तथा विविध थारु सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिएको थियो ।
महोत्सवमा मघौटा, सखिया, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा लगायतका नाचहरू प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया