ओलीद्वारा महान्यायाधिवक्ताको रवि लामिछाने मुद्दा फिर्ता निर्णयप्रति कडा आपत्ति

168 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयप्रति कडा आपत्ति जनाएका छन्।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले देशमा अहिले थिति र विधिको शासन नभएको टिप्पणी गर्दै भने, “अहिले जसको लाठ्ठि त्यसको भैंसी जस्तो शासन नेपालमा पनि स्थापना भएको छ। महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलंकित भएको छ। लज्जाको विषय हो। यस्तो पनि हुन्छ ?”

ओलीले महान्यायाधिवक्ता सविता भण्डारी बरालसम्बन्धी अघि आएका अन्य विवादका घटनाहरू पनि स्मरण गर्दै थपे, “डिम्ब कारोबारका काण्ड बिर्सियौं भनियो, फेरि अर्को काण्ड, अर्को काण्ड बिर्सियौं भनियो, फेरि अर्को काण्ड। अहिले अभियोग परिवर्तनका काण्ड, मुद्दा फिर्ताको काण्ड। दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ ? महान्यायाधिवक्ता कार्यालयले तिर्छ ?”

हिजो मात्रै महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धका गम्भीर मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।