गगन थापा नयाँ नेतृत्व विवरण अद्यावधिकमा निर्वाचन आयोगमा विश्वस्त

187 Shares

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस सभापति गगन कुमार थापाले नयाँ नेतृत्वको विवरण निर्वाचन आयोगले चाँडै अद्यावधिक गर्नेमा पूर्ण विश्वास व्यक्त गरेका छन्।

विशेष महाधिवेशनका निर्णय अद्यावधिक गराउन बिहीबार निर्वाचन आयोग पुगेका थापाले माघ ६ गतेको समयसीमा ध्यानमा राखी शीघ्र निर्णय गर्न आग्रह गरेको जानकारी दिएका छन्।

उनले विशेष महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भइसकेको र आवश्यक तथ्य, प्रमाण तथा कागजात आयोगमा बुझाइसकेको बताए। साथै, विशेष महाधिवेशनसँगै पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिलाई भंग गरिएको जानकारी पनि आयोगमा दिइएको उनले उल्लेख गरे।

बिहीबार बसेको नयाँ कार्यसमितिको बैठकपछि सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका हुन्। कांग्रेसले पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गरेको थियो।