कांग्रेस आधिकारिकतामा कानुनी लडाइँ : गगन–विश्व समूह निर्वाचन आयोग जाँदै

158 Shares

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतालाई लिएर दुवै पक्ष कानुनी लडाइँमा जाने तयारीमा देखिएका छन् । सोहीअनुसार विशेष महाधिवेशन गरेको दाबी गर्ने गगन थापा–विश्वप्रकाश शर्मा समूहले आफूहरूले नयाँ पदाधिकारी चयन गरेको भन्दै निर्वाचन आयोगमा कागजात पेस गर्ने तयारी गरेको छ ।

विशेष महाधिवेशनले बुधबार राति गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको दाबी गगन–विश्व समूहको छ । तर उक्त महाधिवेशन र त्यसबाट बनेको कार्यसमितिलाई शेरबहादुर देउवा पक्षधरले मान्यता दिएको छैन ।

अधिवक्ता राजु कटवालका अनुसार हाल बसिरहेको नयाँ कार्यसमितिको बैठकले दलका पदाधिकारीहरूको विवरण र विधानका केही संशोधित प्रावधान निर्वाचन आयोगमा अद्यावधिकका लागि बुझाउनेछ ।

‘सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएकाले हामी अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोगमा जान लागेका हौं,’ अधिवक्ता कटवालले भने, ‘पदाधिकारी र विधानसम्बन्धी विवरणसहित फाइल बुझाउने तयारी छ ।’

निर्वाचन आयोग ऐनको दफा ५१ अनुसार दलको नाम, चिन्ह, विधान वा पदाधिकारीमा हेरफेर भएमा ३० दिनभित्र निर्वाचन आयोगमा जानकारी गराई अभिलेख अद्यावधिक गर्नुपर्ने व्यवस्था छ ।

गगन–विश्व समूहले कार्यसमिति बैठकबाट विशेष महाधिवेशन सम्पन्न भएको, त्यसबाट नेतृत्व र पदाधिकारी परिवर्तन भएको भन्दै आयोगमा अभिलेख अद्यावधिक गरिदिन अनुरोध गर्नेछ । यसअघि देउवा समूहले बुधबार नै निर्वाचन आयोगमा पत्र पठाउँदै नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन नगरेको दाबी गरेको छ ।

नेपाली कांग्रेसको विधानको धारा १७ मा केन्द्रीय महाधिवेशनको व्यवस्था गरिएको छ, जसअनुसार प्रत्येक चार वर्षमा नियमित महाधिवेशन हुनुपर्ने उल्लेख छ । सोही धारामा विशेष केन्द्रीय महाधिवेशनको व्यवस्था पनि गरिएको छ ।

विधानअनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा विशेष महाधिवेशन बोलाउन सक्नेछ । साथै केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको ४० प्रतिशतले माग गरेमा पनि विशेष महाधिवेशन आह्वान गर्न सकिने व्यवस्था छ । गगन–विश्व समूहले भने आधाभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको मागमा विशेष महाधिवेशन डाकिएको र सर्वसम्मत रूपमा निर्णय भएको दाबी गरेको छ ।