काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी विभाजनले कांग्रेसलाई ठूलो क्षति पुर्याएको प्रतिक्रिया व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भण्डारीले अथक प्रयासका बाबजुद पनि पार्टीलाई एकढिक्का बनाउन नसकिएको उल्लेख गरेका छन् । ‘अत्यन्त दुःखद । कांग्रेसलाई ठूलो क्षति । एक दिन मिल्नै छ, जुन विगतको अनुभव हामीसँग छ । तर, अथक प्रयास सफल हुन सकेन,’ उनले लेखेका छन् ।
भण्डारीले हाल विभाजित अवस्थामा पुगेको कांग्रेस अन्ततः एक दिन एकताबद्ध हुनै पर्ने धारणा पनि व्यक्त गरेका छन् ।
काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशन पक्षधर समूह निर्वाचन प्रक्रियामा अघि बढेपछि कांग्रेसको देउवा पक्षले पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बोलाई महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई निष्कासन गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ । विशेष महाधिवेशन पक्षधर समूहले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयनको प्रक्रिया अघि बढाइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया