रास्वपाले समानुपातिक बन्दसूचीबाट टासी ल्हाजोमको नाम हटायो

137 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रतिनिधित्वको बन्दसूचीबाट जेनजी अभियन्ता तथा हिमाली क्षेत्रकी पर्यावरण र संस्कृति अध्येता टासी ल्हाजोमको नाम हटाएको छ ।

निर्वाचन आयोगले बन्दसूचीमा गरिएको उक्त परिवर्तनलाई औपचारिक रूपमा पुष्टि गरेको छ । पार्टी स्रोतका अनुसार सूचीको माथिल्लो क्रममा रहेकी टासीको नाम अन्तिम चरणमा उनको सहमति बिना नै हटाइएको हो ।

यस निर्णयको मुख्य कारण भूराजनीतिक संवेदनशीलता रहेको बताइएको छ । जेनजी आन्दोलनपछि रास्वपामा प्रवेश गरेकी टासी हुम्लाको लिमी उपत्यकाकी बासिन्दा हुन् ।

उनी हिमाली पर्यावरण संरक्षण, स्थानीय संस्कृति तथा जलवायु परिवर्तनका विषयमा लामो समयदेखि सक्रिय अभियन्ताका रूपमा परिचित रहँदै आएकी छन् ।

यसअघि सन् २०२५ मा उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाउने तयारी हुँदा पनि विवाद उत्पन्न भएको थियो । सामाजिक सञ्जालमा उनको पहिचान, भाषा र राष्ट्रियतामाथि प्रश्न उठाइएपछि केही समूहले उनलाई ‘फ्री तिब्बत’ अभियानसँग जोडेर चिनियाँ चासो बढ्ने दाबी गरेका थिए ।

त्यतिबेला चिनियाँ पक्षले समेत उनको सम्भावित भूमिकाले नेपाल–चीन सम्बन्धमा असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको स्रोतहरू बताउँछन् । तत्कालीन चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्की तथा अन्य मन्त्रीहरूसँग टासीको नामका विषयमा छलफल गरेको चर्चा पनि सार्वजनिक भएको थियो ।

उही विषय पुनः उठेपछि रास्वपाले अन्तिम समयमा उनको नाम समानुपातिक बन्दसूचीबाट हटाउने निर्णय गरेको बुझिएको छ ।