राजावादी प्रदर्शनका लागि सामूहिक एसएमएस पठाएको आरोपमा निर्देश सेढाईं पक्राउ

157 Shares

काठमाडौं । राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै सामूहिक रूपमा एसएमएस पठाएको आरोपमा निर्देश सेढाईं पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’को नाममा एकै पटक करिब ५० लाख जनालाई सन्देश पठाएका थिए । यस प्रयोजनका लागि उनले दूरसञ्चार कम्पनीहरूसँग सम्झौता गरी दुईवटा कम्पनी प्रयोग गरेको र करिब एक करोड रुपैयाँ खर्चिएको दाबी गरेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार चितवन स्थायी ठेगाना भएका सेढाईं कार व्यवसायमा संलग्न छन् र उनको पेट्रोल पम्पसमेत रहेको छ ।