सुरक्षा चुनौतीबीच निर्वाचन सफल बनाउनुपर्ने मुख्यमन्त्री यादवको जोड

144 Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विभिन्न सुरक्षा चुनौतीका बीच आगामी निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका छन् ।

बुधबार मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री यादवले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार अझै बाहिर रहेको, जेलबाट भागेका कैदीहरू नियन्त्रणबाहिर रहेको र प्रहरीसँग आवश्यक सामग्रीको अभाव रहेको अवस्थामै निर्वाचन हुन लागेको भन्दै सुरक्षा चुनौती बढेको बताए ।

“हामी निर्वाचनको मुखमा आइपुगेका छौं, यो हाम्रो लागि ठूलो चुनौती हो,” उनले भने, “बीच–बीचमा विभिन्न घटना भइरहेका छन् । विगतदेखि नै सम्प्रदायिक र जातीय विवाद देखिँदै आएका छन् । राजनीतिक दलहरूका विरोध प्रदर्शन पनि भइरहेका छन् । यस्ता अवस्थामा निर्वाचन सफल बनाउन सबै सचेत भएर अघि बढ्नुपर्छ ।”

मुख्यमन्त्री यादवले नागरिकलाई भयमुक्त वातावरणमा मतदान गर्न सक्ने अवस्था सिर्जना गर्न जरुरी रहेको बताए । हालै भएका सम्प्रदायिक, जातीय तथा धार्मिक विवादतर्फ विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।