कांग्रेस केन्द्रीय समितिको बैठक अझै बस्न सकेन

161 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन ।

बुधबार बिहान ८ बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन नसकेको हो । बैठकमा सहभागी हुन सहमहामन्त्री बद्री पाण्डे, कोषाध्यक्ष उमेश श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, ज्ञानेन्द्र कार्की, एनपी साउद, गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितका केन्द्रीय सदस्यहरू सानेपा पुगिसकेका छन् ।

यसअघि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक राति साढे ७ बजे सुरु भएको थियो । उक्त बैठक केही समय चलेपछि आज बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको थियो ।

सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विशेष महाधिवेशन पक्षधरहरूसँग वार्ता जारी रहेकाले बुधबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभएको थियो ।