कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी मनोनयन दर्ता बुधबार हुने

162 Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारी मनोनयन दर्ता बुधबार हुने भएको छ ।

मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन दर्ताका लागि बुधबार बिहान ८ बजेदेखि ९ बजेसम्मको समय तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिनुभएको छ । कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उम्मेदवारी दर्ता खुला गरिएको थियो । उम्मेदवारी मनोनयन दर्ताबाहेकका बाँकी कार्यक्रमहरू बुधबारका लागि सारिएको थियो ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन यही पुस २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ । पार्टीभित्र देखिएको विवादका कारण विशेष महाधिवेशन लम्बिँदै आएको हो ।

संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच हालसम्म दुई विषयमा सहमति जुट्न नसकेको छलफलमा सहभागी नेताहरूले बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति शेरबहादुर देउवाले राजनीतिबाट विश्राम लिनुपर्ने मागमा संस्थापन पक्षका वार्ताकारहरू सहमत नभएको जनाइएको छ ।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने व्यक्तिहरूको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुपर्ने विषयमा पनि संस्थापन पक्ष असहमत रहेकाले वार्ता निष्कर्षविहीन भएको बताइएको छ ।