काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुधबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ ।
प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका तीनवटा फिडरमा विद्युत् कटौती हुने जानकारी दिएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुनेछ ।
फिडरको भार व्यवस्थापन गर्न, नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर तथा भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
जारी सूचनाअनुसार गणेशस्थान फिडर अन्तर्गत भोटेचोक, गणेशस्थान आसपासका क्षेत्रमा बुधबार बिहान ११:३० बजेदेखि दिउँसो १:३० बजेसम्म विद्युत् कटौती हुनेछ । त्यस्तै, भङ्गाल फिडर अन्तर्गत तल्लो भङ्गाल, धोबीखोला करिडोरलगायत क्षेत्रमा बिहान ११:३० बजेदेखि दिउँसो १ बजेसम्म बिजुली कटौती हुने जनाइएको छ ।
यसैगरी शिवपुरी फिडर अन्तर्गत बुढानिलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायत क्षेत्रमा दिउँसो १ बजेदेखि २ बजेसम्म विद्युत् कटौती हुने सूचनामा उल्लेख छ ।
तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सूचनामा उल्लेखित समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित गरिने प्राधिकरणले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया