विघटित प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना छ : सभामुख देवराज घिमिरे

152 Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना रहेको बताउनुभएको छ। संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला उहाँले अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुन सक्ने सम्भावना औंल्याउनुभएको हो।

मंगलबार झापा क्षेत्र नम्बर–२ मा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद विघटन गरेर संविधानलाई जबरजस्ती निर्धारित मार्ग (लिक) बाहिर लैजाने काम गरिएको दोहोर्‍याएर बताउनुभयो। उहाँले संविधान र कानुनअनुसार आफूले आगामी फागुन ५ गतेसम्म पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको जिकिर गर्दै सोहीअनुसार अघि बढिरहेको दाबी गर्नुभयो।

सभामुख घिमिरेले भन्नुभयो, “भदौ २७ गते राति करिब ११ बजेतिर संसद जबरजस्ती भंग गरिएको हो। यसले संविधानलाई लिकभन्दा बाहिर लगिएको छ। तर सभामुखको संविधान र कानुनसम्मत कार्यकाल रहेकाले आगामी आम निर्वाचन तय गरिएको फागुन २१ भन्दा अगाडि फागुन ५ गतेसम्म म पदीय जिम्मेवारीमा रहनुपर्छ। भोलि संसद पुनःस्थापनाको पनि सम्भावना छ, जुन कुरा मैले यसअघि पनि प्रस्तुत गरिसकेको छु। अब भोलि के हुन्छ भन्ने कुरा परिस्थितिले तय गर्नेछ।”

उहाँले आफू सभामुख रहुन्जेल संविधान र कानुनअनुसारको भूमिकामा स्पष्ट रूपमा रहने उल्लेख गर्दै आगामी निर्वाचनमा सहभागी हुने वा नहुने विषय पनि पदीय जिम्मेवारीकै कारण हाल टुंगोमा पुग्न नसकेको स्पष्ट पार्नुभयो।