तोकिएकै मितिमा निर्वाचन हुन्छ : सहसंयोजक माधव नेपाल

179 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तोकिएकै मितिमा निर्वाचन हुने स्पष्ट पार्नुभएको छ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले आगामी फागुन २१ गते निर्वाचन हुने बताउनुभयो। उहाँले निर्वाचन समयमा हुँदैन कि भन्ने आशंकामा चुप लागेर नबस्न पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराउँदै तयारीमा पूर्ण रूपमा जुट्न निर्देशन दिनुभयो।

सहसंयोजक नेपालले निर्वाचनका लागि पार्टीले घोषणा पत्र निर्माणको काम सुरु गरिसकेको जानकारी दिँदै निर्वाचन परिचालनका लागि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा छिट्टै परिचालन कमिटी गठन गरिने बताउनुभयो। निर्वाचन पार्टीका लागि ‘अग्नि परीक्षा’ भएको उल्लेख गर्दै उहाँले त्यसलाई सफलतापूर्वक पार गर्न सिंगो पार्टी पंक्ति एकतावद्ध भएर परिचालन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

“चुनावमा हाम्रो अग्नि परीक्षा हुनेछ। चुनाव हुन्छ भन्नेमा हामी स्पष्ट छौं। त्यसैले चुनाव हुँदैन कि भनेर पर्खेर बस्ने होइन, पूरै तयारीमा जुट्ने हो,” उहाँले भन्नुभयो।

सहसंयोजक नेपालले निर्वाचनका क्रममा पैसाको लेनदेन लगायतका विकृतिहरू देखिन सक्ने भएकाले त्यसविरुद्ध सचेत र सजग भएर अघि बढ्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो।