काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन्। भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपरान्ह भएको हो।
भेटका क्रममा राजदूत बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास रचेकोमा बधाइ दिएका थिए। प्रधानमन्त्री कार्कीले धन्यवाद व्यक्त गर्दै नेपाल–इजरायलबीचको ६५ वर्ष पुरानो मित्रवत् सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै पक्षबाट प्रयास जारी राख्नुपर्नेमा जोड दिइन्।
राजदूत बासले नेपाल–इजरायल सम्बन्ध सुमधुर रहेको र यसलाई अझ प्रगाढ बनाउन आफू प्रतिबद्ध रहेको जानकारी दिए। साथै, हालै दुवै मुलुकबीच पारित श्रम आप्रवासनसम्बन्धी सम्झौता र कार्यान्वयनसम्बन्धी प्रोटोकलका माध्यमबाट नेपाली कामदारको इजरायलमा कानुनी रोजगारी सुनिश्चित भएकोमा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गरे।
प्रधानमन्त्री कार्कीले पनि नेपाली नागरिकलाई रोजगारी अवसर उपलब्ध गराएकोमा इजरायल सरकारलाई धन्यवाद दिँदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधिसभा निर्वाचन रहेको जानकारी गराइन्।
भेटमा दुवै पक्षले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वर्षगाँठको अवसरमा केही थप महत्त्वपूर्ण कार्य थालनी गर्ने विषयमा पनि छलफल गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया