काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना निकट पदाधिकारी, केन्द्रीय सदस्य तथा कानुन व्यवसायीसँग छलफल गर्ने भएका छन्।
आज दिउँसो ३ बजेपछि महाराजगन्जस्थित देउवा निवासमा बस्ने गरी छलफल आयोजना गरिएको एक पदाधिकारीले जानकारी दिएका छन्। उनका अनुसार छलफल केही बेरमै सुरु हुने तयारी छ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रमा देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस भएपछि पार्टीभित्रको राजनीतिक अवस्था थप जटिल बनेको छ। यही सन्दर्भमा विशेष महाधिवेशनको अवस्था र पार्टीभित्र उत्पन्न हुनसक्ने सम्भावित परिस्थितिबारे रणनीति तय गर्न सभापति देउवाले छलफल बोलाएका हुन्।
छलफलमा संस्थापन पक्षका केही प्रभावशाली केन्द्रीय सदस्य तथा कानुन व्यवसायी सहभागी हुने जनाइएको छ।
यसअघि आज बिहान नेता शेखर कोइरालाले पनि आफ्ना निकट पदाधिकारी, केन्द्रीय सदस्य तथा कानुन व्यवसायीसँग परामर्श बैठक गरेका थिए। विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढिरहँदा कांग्रेसका संस्थापन नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया