नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा जेन–जी उमेर समूहका ४० जना अनिवार्य समेट्ने प्रस्ताव

148 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा जेन–जी उमेर समूहका प्रतिनिधि अनिवार्य रूपमा समेट्ने प्रस्ताव पेस गरिएको छ ।

पार्टीको विशेष महाधिवेशनमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री विश्वप्रकाश शर्माले उक्त प्रस्ताव अघि सार्नुभएको हो । प्रस्तावअनुसार केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिका २० जना र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका २० जना गरी कुल ४० जनाको प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।

त्यस्तै, प्रदेश कार्यसमितिमा पनि दुवै उमेर समूहबाट १०/१० जना प्रतिनिधि रहने व्यवस्था प्रस्ताव गरिएको छ ।

महामन्त्री शर्माको प्रतिवेदनमा भ्रातृ तथा शुभेच्छुक संस्थाबाट पार्टीको महाधिवेशनमा सहभागी प्रतिनिधिमध्येबाट ती संस्थाका प्रतिनिधि मात्रै मतदाता बन्ने व्यवस्था राखिएको छ । साथै, न्यूनतम एक महिला सहित तीन जना केन्द्रीय सदस्य रहने प्रस्तावसमेत गरिएको छ ।

उक्त प्रस्तावले पार्टीभित्र युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई थप संस्थागत बनाउने अपेक्षा गरिएको छ ।