काठमाडौं । थारू समुदायले पुस ३० गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’ आयोजना गर्ने भएको छ ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका संयोजक तथा थारु कल्याणकारिणी सभाका अध्यक्ष प्रेमिलाल चौधरीले दुई दिनसम्म महोत्सव आयोजना गरिने जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको मूल समारोहको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुनेछ ।
महोत्सवले थारू संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य लिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
उहाँका अनुसार महोत्सवका मुख्य आकर्षणमा झाँकी र्याली, मूल उद्घाटन समारोह, विविध थारू सांस्कृतिक प्रस्तुति, थारू खानपानको प्रदर्शनी तथा बिक्री, सीप र हस्तकला, पुस्तक प्रदर्शनी तथा बिक्री रहेका छन् । महोत्सवमा मघौटा, सखिया, हुर्दङ्गवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाचलगायत दुई दर्जनभन्दा बढी थारू सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिनेछ ।
त्यस्तै, महोत्सवमा थारू समुदायले माघी पर्वमा खाने विशेष परिकारहरू—ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारू, केराको तरूवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गङ्गटो, सिधरा र मसुलार—समेत उपलब्ध रहनेछन् ।
थारू समुदायले माघी पर्वलाई नयाँ वर्षको रूपमा मनाउँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया