काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा सेवा बन्द गर्ने निर्णय गरेको छ ।
अस्पताल प्रशासनका अनुसार आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गत प्रदान हुँदै आएका सम्पूर्ण उपचार सेवा बन्द गरिनेछ । लामो समयदेखि स्वास्थ्य बीमा बोर्डले दाबी भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था गम्भीर रूपमा प्रभावित भएको प्रशासनले जनाएको छ ।
अस्पतालका अनुसार बीमा बोर्डले हालसम्म करिब ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । मासिक करिब ५ करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएको अस्पतालले बीमा बोर्डबाट करिब ५० प्रतिशत मात्र दाबी रकम स्वीकृत हुने गरेकोले थप आर्थिक दबाब झेल्नुपरेको बताएको छ ।
त्यसैगरी, उपचारको दररेटमा बीमा बोर्ड र अस्पतालबीच ठूलो अन्तर रहेको र पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको अस्पताल प्रशासनको गुनासो छ । विगत दुई वर्षदेखि आन्तरिक स्रोत प्रयोग गरी दैनिक खर्च धान्दै आएको अस्पतालले अब थप घाटा व्यहोरेर बीमा सेवा सञ्चालन गर्न नसक्ने जनाएको छ ।
अस्पतालद्वारा जारी सूचनामा भनिएको छ, “आन्तरिक स्रोतबाट निरन्तर खर्च धान्दै आएको अवस्थामा अब स्वास्थ्य बीमा सेवा दिनु सम्भव छैन।”
फेसबुकबाट तपाईको प्रतिक्रिया