काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बुढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडा, हेपाली हाइटस्थित खड्काको निवास वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । काठमाडाैं उपत्यका प्रहरी कार्यालयका अनुसार सुरक्षा सचेतनाका रूपमा पूर्वसावधानी अपनाउँदै उक्त क्षेत्रमा थप सुरक्षाकर्मी खटाइएको हो ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन आयोजना गरिएको छ । विशेष महाधिवेशनअन्तर्गत सोमबारबाट बन्दसत्र सुरु भएको छ भने कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिहरू उक्त महाधिवेशनमा सहभागी भएका छन् ।
महाधिवेशन चलिरहेको सन्दर्भलाई ध्यानमा राख्दै सम्भावित जोखिम न्यूनीकरणका लागि कार्यवाहक सभापति खड्काको निवास क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया