कांग्रेस विशेष महाधिवेशनः आज बन्दसत्र, नीति र नेतृत्वबारे छलफल

157 Shares

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र आयोजना हुँदैछ । भृकुटीमण्डपमा आइतबारदेखि जारी विशेष महाधिवेशनको पहिलो दिन उद्घाटन सत्र सम्पन्न भएको थियो भने आज बन्दसत्रको कार्यतालिका तय गरिएको छ ।

महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बन्दसत्र सुरु हुनेछ । बन्दसत्रको प्रारम्भमा विशेष महाधिवेशन सञ्चालनसम्बन्धी कार्यविधि पारित गर्ने कार्यसूची रहेको छ । त्यसपछि ९ वटा समूह निर्माण गरी चार वटा मुख्य विषयमा नीतिगत छलफल गरिनेछ ।

चार विषयमध्ये विधान संशोधन, नीति तथा नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमा विस्तृत छलफल हुने पोखरेलले जानकारी दिनुभयो । नीतिगत मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने र यदि नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

नयाँ कार्यसमिति निर्विरोध चयन हुने सम्भावना रहेकाले मतदानको अवस्था नआउने पोखरेलको भनाइ छ ।

यसैबीच महाधिवेशन प्रतिनिधिहरूको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहनेछ । क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरू आज बिहान मात्रै काठमाडौं आइपुगेकाले बिहान ८ बजेदेखि सुरु भएको दर्ता प्रक्रियामा सहभागी भएका हुन् । प्रतिनिधिहरूलाई सहजताका लागि दर्ता समय ११ बजेसम्म तोकिएको उहाँले जानकारी दिनुभयो ।