कांग्रेस विशेष महाधिवेशनः आज बिहान १० बजेदेखि बन्दसत्र सुरु

169 Shares

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र सोमबार बिहान १० बजेदेखि सुरु हुने भएको छ ।

भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशन आजदेखि बन्दसत्रको चरणमा प्रवेश गर्न लागेको हो । व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार बन्दसत्र सुरु हुनु अघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया पुनः सुरु गरिनेछ ।

उहाँका अनुसार उद्घाटन सत्र सम्पन्न भएपछि आइतबार रातिदेखि दर्ता प्रक्रिया अस्थायी रूपमा बन्द गरिएको थियो । सोमबार बिहान पुनः दर्ता प्रक्रिया सञ्चालन हुने र त्यसपछि बन्दसत्र प्रारम्भ गरिनेछ ।

आइतबार राति ९ बजेसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका छन् । कूल प्रतिनिधिमध्ये ५६ दशमलव १२ प्रतिशत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी भइसकेको संयोजक पोखरेलले जानकारी दिनुभयो ।