समानुपातिक उम्मेदवारले आज साँझ ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

176 Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारले आज (सोमबार) दिउँसो ४ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् ।

निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार राजनीतिक दलहरूले पुस १३ र १४ गते पेश गरेको बन्दसूचीमा समावेश उम्मेदवारले आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम उम्मेदवारी फिर्ता लिन पाउने व्यवस्था गरिएको हो ।

निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यससम्बन्धी जानकारी सबै सम्बन्धित उम्मेदवारलाई गराइसकिएको छ । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ ।

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१८ बमोजिमको ढाँचामा निवेदन पेश गरी आफ्नो नाम फिर्ता लिन सक्नेछन् । कुनै कारणले स्वयं उपस्थित हुन नसक्ने उम्मेदवारले वारेसमार्फत पनि निवेदन दिन सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।

कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामध्ये प्रत्यक्ष निर्वाचन प्रणालीबाट १ सय ६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।