विनोद चौधरीले थापा–शर्मालाई पार्टी नेतृत्व अभियानमा पछि नहट्न आग्रह

140 Shares

काठमाडौँ । नेपाली काँग्रेसका निःवर्तमान सांसद एवं उद्योगपति विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको नेतृत्वमा पुग्ने अभियानबाट पछि नहट्न आग्रह गर्नुभएको छ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता चौधरीले विशेष महाधिवेशन पक्षधरहरूले युवा नेतृत्वको अपेक्षा राखेको र त्यो अभियान अधुरो छोडिन नहुने बताउनुभयो। उहाँले महामन्त्रीद्वयले पार्टीको नेतृत्व लिनुपर्ने र मुलुकलाई युवाहरूको सपना अनुसार विकासको मार्गमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले आगामी निर्वाचनमा नेपाली काँग्रेसले कम्तीमा ५० प्रतिशत उम्मेदवारलाई युवा र नयाँ अनुहारबाट चयन गर्नुपर्ने सुझाव दिनुभयो। “नेपाली काँग्रेसले जेन–जी पुस्ताको भावना बोकेकाहरूलाई पार्टी नेतृत्वको रूपमा उभ्याएको देख्न चाहन्छ,” उहाँले भन्नुभयो।

नेता चौधरीले मुलुकमा बलियो अर्थतन्त्र निर्माण र सामाजिक–आर्थिक रुपान्तरणमा काँग्रेसको नेतृत्व देख्न चाहेको उल्लेख गर्दै भन्नुभयो, “यो पार्टीले २०४८ सालमा देशको आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको थियो। आज पनि पार्टीको जिम्मेवारी यही मार्गमा युवाहरूको सपनालाई सार्थक बनाउनु हो।”

उहाँले महाधिवेशनका महामन्त्रीद्वयलाई सम्बोधन गर्दै भन्नुभयो,
“म आज मञ्चबाट दुवै महामन्त्रीलाई बधाई दिन चाहन्छु – अघि बढ्नुहोस्। यो यात्रा अधुरो नछोड्नुस्। अब नेपालले कुर्न नसक्ने अवस्थामा पुगेको छ, यसलाई विकासको खुड्किलोमा पुर्‍याउनुहोस्। नेपाली काँग्रेसले जेन–जीको भावनाअनुसार अघि बढ्नुपर्छ।”