निर्वाचन आयोगद्वारा सामाजिक सञ्जाललाई पनि आचारसंहिताको दायरामा ल्याइने

162 Shares

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभाको आगामी निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याउने तयारी गरेको छ।

आयोगका अनुसार, आचारसंहिताले निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कुनै पनि व्यक्ति वा समूहलाई सामाजिक सञ्जालमा खाता सञ्चालन गर्न, नक्कली साइट खोल्न वा सामग्री प्रचार/प्रसारण गर्न नपाउने व्यवस्था गरेको छ। यसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी वा नगरी निर्वाचन प्रभावित गर्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने काम पनि रोकिएको छ।

त्यस्तै, भ्रामक सूचना सम्प्रेषण, अपमानजनक वा द्वेषपूर्ण भाषण, टीकाटिप्पणी, सामग्रीमा तोडमोड गरेर पोस्ट, रिपोस्ट, कमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्ने कार्य पनि निषेध गरिएको छ।

निर्वाचनको विश्वसनीयता वा आयोग, आयुक्त, कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर गर्ने लाञ्छना लगाउने, मानहानी गर्ने वा व्यक्तिगत आक्षेपका सामग्री बनाउने/प्रसारण गर्ने कार्य पनि निषेध गरिएको छ।

मतदाता गोप्यता भंग गर्ने, निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने कुनै पनि कार्य गर्न पाइने छैन। आयोगले यो आचारसंहिता आगामी माघ ३ गतेदेखि लागू गर्ने तयारी गरेको छ, जसको प्रभाव आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा हुनेछ।