काठमाडौँ । नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि करुणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ ऊर्जा, सोच र विचारसहित गाउँ फर्किने बताउनुभएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बोल्दै उहाँले यो महाधिवेशनले कांग्रेसको भावी दिशा निर्देश गर्ने नयाँ रोडम्याप तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेत्री कटुवालले आफूहरू नेताहरूको भाषण सुन्न मात्र विशेष महाधिवेशनमा सहभागी नभएको स्पष्ट पार्दै कांग्रेस र देश दुवैको निकासका लागि यो महाधिवेशन आवश्यक रहेको बताउनुभयो । कांग्रेसको विधान जोगाउनकै लागि आफूहरू विशेष महाधिवेशनमा सहभागी भएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो,
‘यो विशेष महाधिवेशन नेपाली कांग्रेसको मात्र होइन, सिंगो देशको निकासका लागि हो । यो हाम्रो पुस्ताको भावना समेट्नका लागि हो । यो कुनै फुटका लागि होइन, कुनै तिक्तताका लागि होइन, न कुनै नेताको विरुद्धमा गरिएको हो ।’
उहाँले विशेष महाधिवेशनलाई पार्टी जोगाउने संवैधानिक र नैतिक प्रयासको संज्ञा दिँदै कांग्रेसको भविष्य तय गर्ने स्पष्ट दृष्टिकोण लिएर महाधिवेशनमा आएको बताउनुभयो ।
‘हामी यहाँ नेताको भाषण सुन्न मात्र गाउँघरका सबै काम छाडेर आएका होइनौँ । हामी नेपाली कांग्रेसको दिशा निर्देश गर्ने रोडम्याप बोकेर आएका हौँ । यहाँबाट नयाँ ऊर्जा, नयाँ सोच र नयाँ विचार लिएर फर्किनेछौँ,’ उहाँले थप्नुभयो ।
कटुवालले विशेष महाधिवेशनले आगामी निर्वाचनमा कांग्रेसलाई नयाँ उत्साह र मनोबल प्रदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया