काठमाडौँ । एनसेलले जेन–जी पुस्ताको सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ।
विद्यार्थीलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने प्रतिबद्धताअनुसार ल्याइएको यो प्याकले युवा वर्गलाई मोबाइल कनेक्टिभिटीमार्फत सधैं जोडिराख्ने उद्देश्य राखेको छ।
सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी यो सिम लिन सक्नेछन्। शनिबारदेखि सञ्चालनमा आएको ‘युवा सिम’ को मूल्य करसहित २ सय ९९ रुपैयाँ तोकिएको छ।
यस प्याकमा अनलिमिटेड अन–नेट (एनसेल–टु–एनसेल) कल, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्ती प्रयोग गर्दा डेटा शुल्क नलाग्ने सुविधा, तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा निःशुल्क पहुँच उपलब्ध छ। यी सबै सुविधा २८ दिनसम्म मान्य रहनेछन्।
यसका साथै, अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा विशेष छुट दिइएको छ, जसअन्तर्गत प्रति मिनेट १ रुपैयाँमा कल गर्न सकिनेछ। २८ दिनभित्र ५ जीबी डेटा सकिएपछि पनि ग्राहकले पे–एज–यू–गो डेटा सेवा प्रति एमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्नेछन्।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्तले युवालाई लक्षित गरी विशेष रूपमा तयार गरिएको ‘युवा सिम’ सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गर्दै यो प्याकले युवालाई डिजिटल भविष्य र विभिन्न अवसरसँग जोड्ने विश्वास व्यक्त गरे।
युवा सिमको अर्को विशेषताअन्तर्गत सामाजिक सञ्जाल प्रयोगका लागि २४ घण्टासम्म मान्य १ जीबी डेटा मात्र १९ रुपैयाँमा उपलब्ध गराइनेछ। यस डेटाबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिनेछ।
युवा सिम लिन प्रयोगकर्ताले नजिकको एनसेल सेन्टरमा गई नागरिकता वा ड्राइभिङ लाइसेन्स तथा विद्यार्थी परिचयपत्र पेश गर्नुपर्नेछ। नागरिकता वा लाइसेन्स नभएको अवस्थामा अभिभावकको सरकारी परिचयपत्र र विद्यार्थी परिचयपत्रको आधारमा पनि सिम लिन सकिने व्यवस्था गरिएको छ।
२८ दिनपछि सेवा निरन्तर प्रयोग गर्न ग्राहकले सोही शुल्कमा प्याक पुनः खरिद गर्नुपर्नेछ। ‘युवा सिम’ *एनसेल एपमार्फत वा १२३# डायल गरेर खरिद गर्न सकिनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया