काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताएका छन्।
शनिबार राजधानीमा आयोजित स्टार लाइट बचत तथा ऋण सहकारी संस्थाको १७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पुनले फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिए।
हजारौँको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि संकटमा परेकाले मुलुकको निकास निर्वाचनबाट मात्र सम्भव हुने उनको भनाइ थियो।
“हजारौँको बलिदानीपछि प्राप्त उपलब्धि खतरामा छ। यस्तो अवस्थामा निर्वाचनले मात्र मुलुकलाई निकास दिन सक्छ,” पुनले भने, “अन्तर्राष्ट्रिय चलखेल र देशको अस्तित्व नै नामेट पार्न खोज्ने प्रवृत्तिविरुद्ध राष्ट्रिय अस्मिता र अखण्डताका पक्षधर देशभक्त शक्तिहरू एक ठाउँमा उभिनुपर्छ।”
पुनले मुलुकको राजनीति अत्यन्तै अस्थिर र तरल अवस्थामा रहेको उल्लेख गर्दै कहिले र कहाँ पुगेर स्थिरता कायम हुन्छ भन्ने अनुमान गर्न कठिन रहेको बताए।
“अहिले राष्ट्रिय राजनीतिमा अस्थिर, तरल र अनिश्चित जस्तो वातावरण छ। कहाँ पुगेर स्थिरता प्राप्त गर्छ भन्न सकिने अवस्था छैन,” उनले भने।
उनले राजनीतिसँगै अर्थतन्त्रमा पनि समस्या चुलिएको बताए। २०७२ को महाभूकम्प र कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्र तङ्ग्रिन खोज्दै गर्दा भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि फेरि सुस्तता आएको पुनको भनाइ थियो।
आन्दोलनका क्रममा भएको विध्वंशका कारण निजी क्षेत्रको मनोबल गिरेको उनले बताए।
“भूकम्प र कोभिडको असरबाट तँग्रिन खोजिरहेको अर्थतन्त्र जेन–जी आन्दोलनका क्रममा भएका विध्वंशका कारण पुनः सुस्ताएको छ,” पुनले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया