आईजीपी कार्की: खरानीबाट उठेर नागरिकको सुरक्षामा खटिएको छ नेपाल प्रहरी

135 Shares

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी खरानीबाट उठेर नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताएका छन्।

शनिबार ट्राफिक सप्ताह तथा दुर्घटना न्यूनीकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनका क्रममा प्रहरीका भवन जलाइएर ठूलो क्षति भए पनि नेपाल प्रहरी पुनः उठेर नागरिक सुरक्षामा समर्पित भएको बताए।

उनले प्रहरी कर्मचारीहरू अभाव र कठिन परिस्थितिमा समेत आफ्नो दायित्वबोधका साथ काम गरिरहेको उल्लेख गर्दै खुट्टामा जुत्ता नहुँदा र शरीरमा लुगा नहुँदा पनि नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर खटिएको बताए। व्यक्तिगत इच्छा, आकांक्षा र इन्द्रिय सुखभन्दा माथि उठेर नागरिक सुरक्षामा लाग्न उनले प्रहरीलाई निर्देशन दिए।

आईजीपी कार्कीले भने, “जेन–जी आन्दोलनमा प्रहरीका भवन जले, ठूलो क्षति भयो। तर खरानीबाट उठेर हामी फेरि नागरिकको सुरक्षाका लागि खटिने प्रयासमा छौँ। ट्राफिक प्रहरीले पनि यही भावना अनुसार काम गरिरहेको छ। दुःखको अवस्थामा पनि दायित्वबोधका साथ नागरिक सुरक्षालाई पहिलो प्राथमिकता दिएका छौँ। अब व्यक्तिगत इच्छा र सुखभन्दा माथि उठेर उच्च तहको नागरिक सुरक्षामा काम गर्ने प्रण गरौँ।”

उनले सबैको जिम्मेवारी सभ्य नागरिक बन्ने रहेको उल्लेख गर्दै कानून कार्यान्वयनले कानूनी शासन स्थापना गर्ने, कानूनी शासनले सुशासन ल्याउने र सुशासनबाट समृद्धि तथा सभ्यता कायम रहने बताए।