काठमाडौं । सरकारले तोकेको मापदण्ड विपरीत प्लास्टिकजन्य सामग्री उत्पादन तथा बिक्री गर्ने दुई उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ।
शुक्रबार गरिएको बजार अनुगमन क्रममा नियम उल्लंघन भेटिएपछि ललितपुरको बालकुमारी प्लास्टिक उद्योगलाई ५० हजार र चन्द्रागिरिस्थित एटीएल प्रोडक्सन हाउसलाई ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ।
विभागले जरिवाना गरिएका उद्योग बाहेक काठमाडौं उपत्यकाभित्रका अन्य ८ व्यावसायिक फर्मलाई पनि सचेत गरेको छ। ती फर्मलाई ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला बिक्री वितरण नगर्न निर्देशन दिइएको छ। साथै, अन्य दुई फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।
सरकारले वातावरणीय प्रदूषण कम गर्न ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोला उत्पादन, आयात र बिक्री वितरणमा पूर्ण रोक लगाएको छ।
विभागले नियमित बजार अनुगमनका क्रममा नियम पालना नभएको पाइए कानुन बमोजिम जरिवाना तथा कारबाही गरिने स्पष्ट पारेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया