सुरक्षा निकाय तयार, फागुन २१ को निर्वाचन भयरहित हुने

150 Shares

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउन सुरक्षा निकायहरूले पूर्ण तयारी रहेको जानकारी दिएका छन्।

सिंहदरबारमा राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नेपाली सेनाका सहायक रथी मनोज थापाले निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना पारित भइसकेको र आवश्यक समन्वय, सहकार्यमार्फत लागू भइरहेको बताएका छन्। थापाका अनुसार बारुदी सुरुङ तथा विस्फोटक पदार्थ नष्ट भइसकेको छ, तर यदि कुनै क्षेत्रमा भेटिए सूचना अनुसार बम डिस्पोजल टोली परिचालित हुनेछ।

नेपाल प्रहरीका एआईजी उमाप्रसाद चतुरर्वेदीले नयाँ बम बनाउने मानसिकता राष्ट्रिय सुरक्षाका लागि खतरनाक रहेको बताए भने सशस्त्र प्रहरीका एआईजी गणेश ठाडा मगरले तीनवटै सुरक्षा निकायले एकीकृत सुरक्षा योजना अन्तर्गत परिचालन भइरहेको बताए। उनीहरूले नेपाल प्रहरीबाट १ लाख ३४ हजार र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी थप गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी पनि दिएका छन्।

सुरक्षा निकायहरूले आपसी समन्वय, लक्षित गस्ती र अतिरिक्त जनशक्तिको प्रयोगमार्फत निर्वाचन शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।