काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आम जनताले मन नपराएको बताएका छन् ।
बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता सापकोटाले राजनीतिक दलहरूबीच सहकार्य हुनु स्वाभाविक भए पनि यसपटकको सहकार्यलाई नागरिकहरूले सकारात्मक रूपमा नलिएको बताए । उनले राष्ट्रिय सभा निर्वाचनमा मतभारको आधारमा सिट बाँडफाँट गर्न नेकपाले प्रस्ताव गरे पनि कांग्रेस र एमाले त्यसमा तयार नभएको उल्लेख गरे ।
उनले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने नेकपा कुनै पनि दलसँग सहकार्य नगरी एक्लै चुनावमा जाने स्पष्ट पारे । राष्ट्रिय सभा निर्वाचन आम निर्वाचनभन्दा फरक भएकाले सीमित समझदारीको कुरा उठेको भए पनि प्रत्यक्ष निर्वाचनमा भने पार्टी स्वतन्त्र रूपमा जनतामाझ जाने उनको भनाइ थियो ।
सापकोटाले भने, ‘राष्ट्रिय सभामा कांग्रेस–एमालेसँग मिल्ने विषय पार्टीभित्र र जनतामा पनि त्यति रुचाइएन । आलोचना र टिप्पणीहरू आए । मतभारको आधारमा सिट बाँडफाँट गरौँ भनेर प्रस्ताव गर्दा पनि उनीहरू तयार भएनन् । त्यसैले अब आगामी आम निर्वाचनमा हामी एक्लै चुनाव लड्छौँ, जनताको सुझाव पनि यही छ ।’
विगतमा गठबन्धनका कारण पार्टीको पहिचान स्थापित हुन नसकेको स्वीकार गर्दै उनले नेकपाले जेनजी पुस्ताका मुद्दा र मुलुकका अग्रगामी एजेन्डा उठाउँदै आएको दाबी गरे ।
उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच विचार र दृष्टिकोणको अभाव रहेको टिप्पणी पनि गरे । राजनीतिक दलहरूमा विचारको रिक्तताकै कारण मुलुक संकटतर्फ गएको उनको जिकिर थियो ।
नेता सापकोटाले नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवादले राष्ट्रिय राजनीतिमा खासै असर नपार्ने बताए । तर कुनै पनि पार्टी विभाजनभन्दा एकताबद्ध हुनु हितकर हुने भन्दै कांग्रेसलाई पनि एकतामै अघि बढ्न सुझाव दिए ।
साथै, उनले संसद विघटनसम्बन्धी विचाराधीन मुद्दा सर्वोच्च अदालतले छिटो टुंगो लगाउनुपर्नेमा जोड दिँदै वर्तमान राजनीतिक संकटको निकास निर्वाचनबाट मात्र सम्भव हुने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया