काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन अपरिहार्य भइसकेको बताउँदै महाधिवेशन प्रतिनिधिहरू थपिने क्रम जारी रहेको जानकारी दिनुभएको छ ।
विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेर सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले प्रारम्भमा विशेष महाधिवेशनको मागमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन रहेको उल्लेख गर्नुभयो । तीमध्ये करिब २५ जना प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको सूचना आए पनि हाल करिब ५ सय जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा थपिँदै आएको उहाँको भनाइ छ ।
संस्थापन पक्षले विशेष महाधिवेशनले पार्टी विभाजन हुने तर्क गरिरहेको सन्दर्भमा महामन्त्री शर्माले त्यसलाई अस्वीकार गर्नुभयो । पार्टी विधानमै विशेष महाधिवेशनको व्यवस्था रहेकाले यसले पार्टी विभाजन नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशनले पार्टी विभाजन गर्छ भन्ने हो भने त्यो व्यवस्था पार्टी विधानमै राखिँदैनथ्यो । पार्टी विभाजन हुँदैन । फागुन २१ गतेको निर्वाचनमा नेपाली कांग्रेस एक भएर जान्छ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको एकल उम्मेदवार हुनेछ ।’
महामन्त्री शर्माले विशेष महाधिवेशनले पार्टीभित्र नेतृत्व चयनको कार्यविधि तय गर्ने स्पष्ट गर्दै यसले पार्टीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया