सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब ९ हजार स्मार्ट लाइसेन्स छपाइ

172 Shares

काठमाडौं । पनौती नगरपालिका–५, काभ्रेपलाञ्चोकस्थित सुरक्षण मुद्रण केन्द्रमा पछिल्ला दुई महिनामा क्यूआर कोडसहितका ८ हजार ९८३ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छापिएका छन् । यातायात व्यवस्था विभागका अनुसार गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरिएको हो ।

जेनजी आन्दोलनका क्रममा विभागको ‘मास प्रिन्टर’ तोडफोड भएपछि रोकिएको लाइसेन्स छपाइ सुरक्षण मुद्रण केन्द्रबाट पुनः सुरु गरिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कात्तिक २१ गते केन्द्रमा रहेको प्रिन्टिङ प्रेसको बटन थिचेर छपाइको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।

लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच कात्तिक १२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख थान स्मार्ट लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्नेछ ।

यातायात व्यवस्था विभागका आइटी निर्देशक केशव खतिवडाका अनुसार हाल अत्यावश्यक लाइसेन्स मात्र छापिएको हो । ‘छापिएका करिब ९ हजारमध्ये ७ हजार लाइसेन्स वितरण भइसकेका छन्,’ उहाँले बताउनुभयो । नयाँ ट्रायल पास भएका तथा नवीकरणका लागि आवेदन दिएका गरी झण्डै ३० लाख लाइसेन्स अझै छपाइ हुन बाँकी रहेको विभागको भनाइ छ ।

विभागले साधारण लाइसेन्स छपाइको तयारी गरिरहेको जनाउँदै एकैपटक एक लाखको ‘डाटा’ केन्द्रलाई पठाउने तयारी भइरहेको खतिवडाले जानकारी दिनुभयो ।

माघदेखि गति बढाइने

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हालसम्म छपाइको गति सुस्त देखिए पनि माघ महिनादेखि काम तीव्र बनाइनेछ । ‘सुरुआती चरण परीक्षणकाल भएकाले थोरै मात्र छपाइ भयो । अब नयाँ जनशक्तिसहित कामको गति बढाइनेछ,’ उहाँले भन्नुभयो ।

केन्द्रले माघदेखि दैनिक १० हजारका दरले स्मार्ट लाइसेन्स छाप्ने आन्तरिक तयारी गरेको जनाएको छ । सम्झौताअनुसार सुरुका तीन महिनामा एक लाखका दरले तीन लाख र बाँकी तीन महिनामा नौ लाख गरी कुल १२ लाख लाइसेन्स छाप्ने लक्ष्य राखिएको छ ।

सुरुआती दुई हप्तामा नेपालमै गरिएको परीक्षण सफल भएपछि पहिलो चरणमा ५२० थान लाइसेन्स विभागलाई हस्तान्तरण गरिएको थियो ।

चिप्सको सट्टा क्यूआर कोड, उच्च सुरक्षा प्रविधि

केन्द्रमा छापिएका नयाँ स्मार्ट लाइसेन्समा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ । केन्द्रका अनुसार कार्डमा छ तहसम्म सुरक्षा प्रविधि प्रयोग गरिनेछ । कुल ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन्, जसमा दृश्य र अदृश्य दुवै खालका सुरक्षा प्रणाली समावेश छन् ।

लाइसेन्सबाहेक केन्द्रले हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा तथा भिसा स्टिकर छपाइको तयारी पनि गरिरहेको छ । हाल जडित दुई उच्च सुरक्षित डिजिटल मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क स्टिकर छाप्न सकिने क्षमता रहेको जनाइएको छ ।

वार्षिक १० अर्ब रुपैयाँ जोगिने अपेक्षा

सुरक्षण मुद्रण प्रेस पूर्ण रूपमा सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रूपमा बाहिरिने करिब १० अर्ब रुपैयाँ जोगिने अपेक्षा गरिएको छ । केन्द्र सञ्चालनका लागि करिब २०० प्राविधिकसहित एक हजार जनशक्ति आवश्यक पर्नेछ ।

सरकारले विसं २०८० मा सुरक्षण मुद्रण विकासका लागि तीन चरणको गुरुयोजना तयार गरेको थियो । पहिलो चरणमा पाँच वर्षभित्र आत्मनिर्भर बन्ने, दोस्रो चरणमा दश वर्षभित्र सार्क र दक्षिणपूर्वी एसियाली मुलुकलाई सेवा दिने र तेस्रो चरणमा १५ वर्षभित्र अन्य तेस्रो मुलुकसम्म सेवा विस्तार गर्ने लक्ष्य तय गरिएको छ ।

यसअघि प्रयोगविहीन अवस्थामा रहेको सूचना–प्रविधि पार्कलाई पाँच वर्षअघि सुरक्षण मुद्रण केन्द्रमा रूपान्तरण गरिएको हो । २५७ रोपनी क्षेत्रफलमा फैलिएको पार्कभित्र व्यापारिक, प्रशासनिक, आवासीय भवन तथा गोदाम संरचना रहेका छन् ।