पाँच वर्षमा एउटा कानुन बनाउनेलाई भोट नदिनुस् : मन्त्री सिन्हा

159 Shares

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा जनताप्रति उत्तरदायी र जिम्मेवार जनप्रतिनिधि चयन गर्न आग्रह गर्दै पाँच वर्ष लगाएर एउटा कानुन बनाउनेहरूलाई भोट नदिन अनुरोध गर्नुभएको छ।

राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले ढिलासुस्ती र जिम्मेवारीहीन प्रवृत्तिका जनप्रतिनिधिलाई पुनः निर्वाचित गर्नु गलत हुने बताउनुभयो।

‘एउटा कानुन बनाउन पाँच वर्ष लगाउने र त्यसको प्रत्यायोजित विधायन बनाउन फेरि अर्को पाँच वर्ष लगाउने जनप्रतिनिधिहरूलाई तपाईंहरूले फेरि भोट हाल्न जानुहुन्छ भने तपाईंहरूको हात काम्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘अब सचेत भएर जनताका समस्या बुझ्ने, जनतासम्म पुग्न सक्ने र परिणाम दिन सक्ने प्रतिनिधि छान्ने बेला आएको छ।’

मन्त्री सिन्हाका अनुसार जेन–जी आन्दोलनले योग्य जनप्रतिनिधि छान्ने अवसर सिर्जना गरेको छ। ‘जेन–जी आन्दोलनले यो मौका दिएको छ। समयमा चुनाव हुनुपर्छ र सरकार निर्वाचन गर्न पूर्ण रूपमा प्रतिबद्ध छ,’ उहाँले भन्नुभयो।

उहाँले चेतावनी दिँदै भन्नुभयो, ‘अब पनि पाँच जनाले ताली बजाउ भन्यो भन्दैमा ताली बजाएर कानुन पारित गर्नेहरूलाई चुनेर पठाइयो भने, १० वर्षपछि हामी यही ठाउँमा फर्केर उभिएको अवस्था हुनेछ।’

मन्त्री सिन्हाले आवश्यकताको आधारमा प्राथमिकता तोकेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिँदै आपसमा बाझिने र कार्यान्वयन हुन नसक्ने कानुन बनाउन नहुने स्पष्ट पार्नुभयो।


यदि चाहनु भयो भने