काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना खुलाएको छ ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले सूचना जारी गर्दै कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो ।
सूचना अनुसार पुस २५ गते (शुक्रबार) देखि माघ १ गतेसम्म दर्खास्त दिन सकिनेछ । सार्वजनिक बिदाका दिनहरूमा पनि दर्खास्त लिइने जनाइएको छ ।
उम्मेदवारहरूले जिल्ला प्रहरी परिसर (काठमाडौं, भक्तपुर र ललितपुर) तथा सबै जिल्ला प्रहरी कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
निर्वाचन प्रहरी छनोट प्रक्रियामा पूर्वसुरक्षाकर्मी तथा पूर्ववन रक्षक, पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
यसका साथै, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक सेवा गरेका व्यक्ति तथा विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकहरू ले पनि प्राथमिकता पाउनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया