राष्ट्रियसभा निर्वाचनः आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

158 Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आज (बिहीबार) उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बुधबार सातै प्रदेशका प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन पत्र दर्ता सम्पन्न भएको हो ।

निर्वाचन कार्यक्रमअनुसार पुस २५ र २६ गते मनोनयन पत्र तथा उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । त्यस्तै, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् र सोही दिन अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ ।

पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ ।