काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बुद्धिजीवीहरूले पार्टीभित्र विधि र पद्धति स्थापित गर्न विशेष महाधिवेशनमा जान सुझाव दिएका छन्।
पार्टीको संस्थापन पक्षले विधि र पद्धतिभन्दा बाहिर गएर असहमत पक्षलाई किनारामा पार्ने प्रयास गरेको आरोप लगाउँदै बुद्धिजीवीहरूले त्यसको प्रतिवादस्वरूप विशेष महाधिवेशनमार्फत पार्टीको रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने बताएका हुन्।
बुधबार पार्टी महामन्त्री गगनकुमार थापासहित विशेष महाधिवेशन पक्षधर समूहले बुद्धिजीवीहरूसँग छलफल गरी विशेष महाधिवेशनबारे सुझाव लिएको थियो।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बुद्धिजीवी सुदर्शन आचार्यले संस्थापन पक्षले महामन्त्रीहरूलाई कारबाही गर्छ कि भन्ने प्रश्न पनि छलफलमा उठेको जानकारी दिनुभयो। उहाँका अनुसार पार्टी विधान र मुलुकको संविधानअनुसार अघि बढ्दा महामन्त्रीहरूलाई कारबाही गर्ने कुनै आधार पार्टी केन्द्रसँग छैन। त्यसैले विशेष महाधिवेशनको पक्षमा दृढतापूर्वक अघि बढ्न सुझाव दिइएको उहाँले बताउनुभयो।
आचार्यले पार्टी रूपान्तरणमार्फत मुलुकको राष्ट्रिय राजनीतिले सामना गरिरहेका चुनौतीहरू समाधान गर्न देशभरका महाधिवेशन प्रतिनिधिहरूलाई विश्वासमा लिन पनि सुझाव दिइएको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो,
‘पार्टीभित्र विधि र पद्धति स्थापित गर्न महामन्त्रीज्यूले लिनुभएको अडानले सिंगो देशको राजनीति जितेको छ। संस्थापन पक्षले विधि र पद्धतिभन्दा बाहिर गएर किनारामा पार्ने प्रयास गरेकाले विशेष महाधिवेशनमार्फत पार्टीलाई रूपान्तरणसहित पुस्तान्तरण गर्न आवश्यक छ।’
बुद्धिजीवी अरुण सुवेदीले विशेष महाधिवेशन पक्षधरहरू ‘पोइन्ट अफ नो रिटर्न’को अवस्थामा पुगिसकेको टिप्पणी गर्दै बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिता सुनिश्चित भए विशेष महाधिवेशन गर्नु उपयुक्त हुने सुझाव दिनुभयो। उहाँले बहुसंख्यक प्रतिनिधिबाट चुनिएको नेतृत्वले मात्र वैधानिकता पाउने उल्लेख गर्दै पार्टी फुट्नु कुनै हालतमा नहुने धारणा राख्नुभयो।
उहाँले भन्नुभयो,
‘गणपुरक संख्या पुगेको अवस्थामा विशेष महाधिवेशन गर्नु वैधानिक निकास हो। तर कुनै पनि हालतमा पार्टी फुट्न दिनु हुँदैन।’
बुद्धिजीवी प्रताप पौडेलले नेपाली कांग्रेस नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले रूपान्तरित कांग्रेसले मात्रै युवाको भावना अनुसार काम गर्न सक्ने र राष्ट्रिय राजनीतिक चुनौतीको सामना गर्न सक्ने बताउनुभयो।
बुद्धिजीवी विश्वकुमार केसीले नीति र नेतृत्व रूपान्तरणमार्फत समाजमा विश्वास पुनःस्थापित गर्ने महामन्त्री थापाको कदमप्रति उपस्थित सबैले समर्थन जनाएको जानकारी दिनुभयो। उहाँले नेताले जोखिम लिन सक्नुपर्ने र जोखिम नलिनु नै अर्को जोखिम हुने भन्दै विशेष महाधिवेशनको पक्षमा अघि बढ्न सुझाव दिनुभयो।
यसैबीच, विशेष महाधिवेशन पक्षधर समूहले यही पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आह्वान गरिसकेको छ। पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको असहमति हुँदाहुँदै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन्। पार्टी नेतृत्वलाई उक्त महाधिवेशनलाई अपनत्व लिन आग्रह गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया