काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङले आगामी कम्तीमा २० वर्षसम्म कुनै पनि निर्वाचन जित्न नसक्ने दाबी गर्नुभएको छ।
पार्टीसम्बद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले देशमा निर्वाचन भए एमालेले नै जित्ने दाबीसमेत गर्नुभयो।
अध्यक्ष ओलीले एमाले–काँग्रेसले चुनाव जित्ने देखिए चुनाव नै नगराउने भन्ने कुरा आफूले सुन्दै आएको भन्दै त्यसप्रति आपत्ति जनाउनुभयो। उहाँले केही व्यक्तिहरूले जित्ने भए मात्र चुनाव गराउने भन्ने सोच लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गर्नुभयो।
बालेन्द्र साहप्रति लक्षित गर्दै अध्यक्ष ओलीले कुनै ठोस काम नगरेका व्यक्तिलाई महान् काम गरेको जस्तो प्रचार गर्ने पक्षमा आफू नरहेको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो,
‘चुनाव भयो भने हामी सहभागी हुन्छौँ र जित्छौँ। तर म सुन्छु—एमाले–काँग्रेसले जित्छ भने चुनाव नगराउने रे, फलानाले जित्छ भने मात्रै गराउने रे। ती फलाना–फलाना अब आउँदो २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्। अब के गर्ने त ? २० वर्ष चुनाव नै नगराउने ? डम्फु बजाएर प्रचार गर्नु बेग्लै कुरा हो।’
अध्यक्ष ओलीले पुनः जोड दिँदै भन्नुभयो,
‘म फेरि दोहो¥याएर भन्छु—चुनाव भयो भने एमालेले जित्छ। अब के गर्ने त ? हामीले यो नभनिदिनुपर्ने ? कि उहाँहरूले नै जित्नुहुन्छ भनेर भन्नुपर्ने ? उहाँहरूले अघि सारेका मान्छेले देश बनाएको छ, पुल, बाटो, विमानस्थल बनाएको छ, कृषि आधुनिकीकरण गरेको छ भनेर भन्नुपर्ने ? के भन्ने त ?’
कार्यक्रममा अध्यक्ष ओलीले न्यायालयमाथि धम्की आउन थालेको उल्लेख गर्दै यस्तो अवस्थाले निर्वाचनको वातावरणमै प्रश्न उठाएको धारणा राख्नुभयो। उहाँले सरकारले निर्वाचन गराउने तयारीतर्फ ध्यान दिनुको सट्टा अन्यत्रै ध्यान केन्द्रित गरेको आरोप पनि लगाउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया