काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी गरिएको आरोप लगाएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले पछिल्लो समय पार्टीले प्रक्रिया र विधानलाई बेवास्ता गर्दै गएको दाबी गरे। उनले संख्याको दम्भ देखाएर केही नेताहरूले आफूहरूविरुद्ध प्रहार गरिरहेको र त्यसका लागि सबै मिल्ने प्रयास भइरहेको गुनासो गरे।
महामन्त्री थापाले पार्टी कार्यालयभित्रको घेराबन्दी सानो भए पनि आम कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूको घेरा ठूलो भएकाले अन्ततः जनताले नै यसको निर्णय गर्ने जिकिर गरे।
उनले भने,
‘पार्टीभित्र पछिल्लो समयमा प्रक्रिया र विधान निलिँदै गएको छ। म र अर्का महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको महामन्त्रीका रूपमा आफ्नो भूमिका निर्वाह गरिरहेका बेला हामीलाई कर्नर गर्ने, घेराबन्दी गर्ने र यसविरुद्ध सबै मिल्ने काम भइरहेको छ। मैले नेताहरूलाई भनेको छु—यहाँभित्र सबै मिलेर हामीलाई जति घेराबन्दी गरे पनि यो घेरा सानो छ, तर पार्टीको घेरा ठूलो छ। समर्थक र शुभेच्छुकको घेरा ठूलो छ। तपाईंहरू हामीलाई साँघुरो घेराबाट झन् ठूलो घेरातर्फ जान बाध्य पार्दै हुनुहुन्छ।’
महामन्त्री थापाले संख्याको आधारमा दम्भ देखाएर महामन्त्रीहरूलाई घेराबन्दी गरिएको पुनः आरोप लगाए।
फेसबुकबाट तपाईको प्रतिक्रिया